Thursday, November 13, 2008

कविता प्रतियोगिताको पाँच सर्वोत्कृष्ट कविहरुको परिणाम घोषणा विहीवार साँझ

कविता प्रतियोगिताको पाँच सर्वोत्कृष्ट कविहरुको परिणाम घोषणा विहीवार साँझलामो वर्षको अन्तरालपछि हङकङमा पहिलो पटक ऐतिहासिक कविता प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितात्मक कविता वाचनका पाँच सर्वोत्कृष्ट कविहरुको नाम आज विहीवार घोषणा गरिने छ।
जोर्डनस्थित नेपाल क्लवमा नोभेम्बर ११ तारिख साँझ प्रतियोगितात्मक कविता वाचन कार्यक्रम सम्पन्न भएको थियो। प्रतियोगितामा हङकङका १२ जना कवि तथा कवयित्रीहरु सहभागी थिए।
विम्बहरुका साथ एक दिन - संयुक्त कविता वाचन कार्यक्रममा सरीक हुन नेपालबाट आएका नेपालका पोखरेली तीन वरिष्ठ स्रष्टाहरु सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठ र प्रकट पगेनी शिव प्रतियोगिताका निर्णायक थिए।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय सचिव पशन तमूको संयोजनमा सम्पन्न प्रतियोगितात्मक कविता वाचन कार्यक्रम पोखरेली झ्याल कार्यक्रम अन्तर्गत यो वर्षदेखि सुरु भएको हो। संयोजक तमूलाई अनेसास हङकङका कोषाध्यक्ष प्रकाश केसीले सहसंयोजकका रुपमा सघाएका थिए।
पोखरेली झ्याल कार्यक्रमलाई विगत केही वर्षदेखि मितेरी सेवा समितिले हङकङमा विविध कार्यक्रमहरुसहित मेलाको रुपमा सञ्चालन गर्दै आएको छ।
पोखरेली तीन वरिष्ठ स्रष्टाहरुलाई फूलका गुच्छासहित स्वागत गर्दै सुरु भएको भएको औपचारिक कार्यक्रममा समितिका अध्यक्ष तुलसीकुमार गुरुङ, उपाध्यक्ष रक्षा गुरुङ र पागल वस्ती उपन्यासमा मदन पुरस्कार विजेता तथा शून्यवादका प्रवर्तक सरुभक्त श्रेष्ठले आफ्ना मन्तव्यहरु राखेका थिए। नरजंग गुरुङले औपचारिक कार्यक्रमपछि प्रतियोगितात्मक कविता वाचन कार्यक्रम सञ्चालनका लागि कार्यक्रम संयोजक पशन तमूलाई माइक हस्तान्तरण गरेका थिए।
प्रतियोगितामा चन्द्र मादेन आन्छान, केवल गंगा गुरुङ, मोती चाम्लिङ, कमल पौडेल, राजेन्द्रकुमार थापा, आशा दाहाल, लक्ष्मी राई, सोम थापा मगर, प्रकाश छान्छा राई, मोहन गुरुङ, रीता गुरुङ र डिल्ली बिक सहभागी थिए। प्रतियोगीमध्ये मोती चाम्लिङ, कमल पौडेल, लक्ष्मी राई र राजेन्द्रकुमार थापा क्रमशः अनेसास हङकङका अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्य हुन्।
कार्यक्रममा सिर्जनाशिल साहित्य समाजका अध्यक्ष हाङ युग अज्ञात, एनआरएन एशिया प्यासेफिक संयोजक गणेश इजम र आदिवासी गीतकार समाजका अध्यक्ष प्रदीप कन्दङ्वाले अप्रतियोगी कविताहरु वाचन गरेका थिए। केही अप्रतियोगी कविताहरु समय अभावका कारण वाचन भएनन्। कार्यक्रममा वरिष्ठ संगीतकारद्वय विक्रम गुरूङ र दिनेश सुब्बासहित हङकङका साहित्यकार, पत्रकार र बुद्धिजीविहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कविता प्रतियोगिताको पाँच सर्वोत्कृष्ट कविहरुको परिणाम घोषणा विहीवार साँझ याउ मा तेइस्थित कम्युनिटी हल हुने नेपालका तीन चर्चित स्रष्टाहरु सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठ र प्रकट पगेनी 'शिव'का कार्यक्रम विम्बहरुका साथ एक दिन कार्यक्रममा सार्वजनिक गरिनेछ भने 'पोखरेली झ्याल २००८ - कवि' उपाधिको घोषणा नोभेम्बर १६ तारिख ताइ मोशान कन्ट्री पार्कमा आयोजना पोखरेली झ्याल कार्यक्रममा गरिने छ।

No comments: